सर्च कमिटीलाई पूर्णता दिन तिन दलका शीर्ष नेताहरु सहमत

71

काठमाडौं – शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताको बैठकले सो सहमति गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेता सहभागी थिए।

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) शक्तिबहादुर बस्नेतले जानकारी दिए।

सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शीर्ष तीन दलका नेता सहमत भएको उनको भनाइ छ।

उनले एक/दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुने बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसक्ने आयोग गठन हुने विश्वास व्यक्त गरे । शीर्ष दलका शीर्ष नेताको बैठकमा महान्याधिवक्ता रमेश बडालसमेत सहभागी थिए।

समाचार वर्गहरू