१११ दिन देखी विनाविभागीयमन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइँदै

45

काठमाडौं – बागमती प्रदेशमा एउटा मन्त्रालय थपिने भएको छ । अहिले बागमतीमा १३ मन्त्रालय र १४ मन्त्री छन् । १११ दिनदेखि विनाविभागीयमन्त्री काँग्रेस सांसद मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन एउटा मन्त्रालय थप्ने तयारी भएको हो ।

संसद्का दुई ठुला दल कांग्रेस र एमालेको सरकारमा सबैभन्दा लामो समयसम्म विनाविभागीयमन्त्री बनाएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्रालयको संख्या बढाएर जिम्मेवारी दिइने भएको हो । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको टुंगो लगाउने र मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिने बताए ।

स्रोतका अनुसार मन्त्री श्रेष्ठलाई नयाँ मन्त्रालयका रूपमा गरिबी निवारण तथा सहकारी मन्त्रालय वा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट समायोजना गरेर नयाँ मन्त्रालय बनाएर जिम्मेवारी तोक्ने सम्भावना छ ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारी विभाग छुट्याउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको संघीय सरकारबाट प्राप्त हुने अनुदान, समपूरक, विशेष अनुदानको क्षेत्र हेर्ने गरी दुवैलाई मिलाएर गरिबी निवारण तथा सहकारी मन्त्रालय बनाउने विषयमा कांग्रेस र एमालेमा छलफल भइरहेको छ ।

बागमतीमा मुख्यमन्त्रीबाहेक एमाले र कांग्रेसले ६–६ मन्त्रालय लिने सहमति भएको थियो । तर, मुख्यमन्त्री लामाले आफूबाहेक एमालेबाट ६ र कांग्रेसबाट सात मन्त्री बनाए । १३ वटा मन्त्रालय रहेको प्रदेशमा १४ जना मन्त्री भएपछि श्रेष्ठले अहिलेसम्म जिम्मेवारी पाउन नसकेका हुन् ।

समाचार वर्गहरू