उद्योगीले बक्यौता नतिरेपछि सर्वसाधारणको पनि महसुल नतिर्ने चेतावनी

43

काठमाडौं – उद्योगीसँग बक्यौता असुल नगरेको भन्दै रुपन्देहीको देवदह नगरपालिका– ७ का स्थानीयले भदौको सुरुका दुई साता प्राधिकरण कर्मचारीलाई आफ्ना घरमा मिटर रिडिङ नै गर्न दिएनन् ।

स्थानीयले ‘जनपक्षीय संयुक्त संयन्त्र’ नामक एक संगठन नै बनाएर अभियान चलाएका हुन् । उक्त समूहले ३२ साउनमा जिल्ला प्रशासन कार्यालयमा सिडिओलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीको बक्यौता असुल नभएसम्म आफूहरूले पनि महसुल नतिर्ने चेतावनी दिएका थिए ।

‘प्राधिकरणलाई उद्योगीहरूले तिर्नुपर्ने महसुल नतिर्दासम्म हामी पनि विद्युत् महसुल उतिर्ने घोषणा गर्दछौँ । त्यसैले, विद्युत् प्राधिकरणलाई मिटररिडर नपठाउन पनि अनुरोध गर्दछौँ,’ पत्रमा उल्लेख थियो । पत्रलाई खेलाँची ठाने सशक्त आन्दोलन गर्ने र त्यसबाट निम्तिने घटनाको जिम्मेवार सरकार हुने समूहको चेतावनी थियो । त्यसपछि मिटर रिडिङ गर्ने कर्मचारीले फिल्डमा जान नसक्ने भन्दै प्राधिकरणको बुटवल वितरण केन्द्रमा पत्र नै पठाएका थिए । प्रशासनले आफ्ना मागको सम्बोधन नगरेको भन्दै स्थानीयले २६ भदौमा देवदहमा राँकेजुलुससमेत निकालेका थिए ।

रुपन्देहीको रोहिणीमा स्थानीयले लाइन काट्न नदिएपछि प्राधिकरण कर्मचारीलाई चाहियो प्रहरीको सुरक्षा
८ कात्तिकमा भैरहवा वितरण केन्द्रका कर्मचारी रोहिणी गाउँपालिका वैकुण्ठपुरस्थित एक सर्वसाधारणको घरमा लाइन काट्न गए । तर, ठुला उद्योगलाई वर्षौँदेखि अर्बौँ छुट दिइरहने, दुई–चार सय बक्यौता हुने सर्वसाधारणको घरमा लाइन काट्न आउने भन्दै स्थानीयले अवरोध गरे । उद्योगीसँग बक्यौता उठाएर मात्र आउन भन्दै विरोध गरेपछि प्राधिकरण टोली लाइन नकाटी फर्कियो । भोलिपल्ट प्रहरीसहित गएर उक्त ग्राहकको लाइन काटेको थियो ।

महसुल नतिरेपछि लाइन काट्न गएका कर्मचारीमाथि संखुवासभामा कुटपिट
१४ साउनमा संखुवासभाको खाँदबारी वितरण केन्द्रका कर्मचारी स्थानीय एक ग्राहकको घरमा लाइन काट्न गए । बक्यौता नतिरेर कालोसूचीमा परेका अर्का ग्राहकलाई आफ्नोबाट विद्युत् दिएको भन्दै उक्त ग्राहकको घरमा लाइन काट्न कर्मचारी गएका थिए । तर, स्थानीयले उद्योगीसँग बक्यौता उठाउन नसक्ने, साना उपभोक्तालाई भने दुःख दिने भन्दै कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेर लखेटेका थिए ।

लाइन काट्दा कर्मचारी ११ घण्टासम्म नियन्त्रणमा, पुनः जोडेपछि मात्रै छाडिए
सिराहा नगरपालिकाको माडरमा महसुल नतिर्ने ग्राहकको घरमा लाइन काट्ने सिराहा वितरण केन्द्रका कर्मचारीलाई १६ साउनमा स्थानीयले नियन्त्रणमा लिए । केही घरमा लाइन काटेर छोटु यादवकोमा काट्न लाग्दा स्थानीयले एकाएक कर्मचारीलाई घेरेका थिए । ठुला उद्योगले बक्यौता नतिरे पनि लाइन जोडिदिने, तर सर्वसाधारणलाई पेल्ने भन्दै उनीहरू आक्रोशित बने । बिहान १० बजेतिर नियन्त्रणमा लिइएका कर्मचारीलाई लाइन पुनः जोडिदिएपछि राति ९ बजेतिर मात्रै छाडिदिएका थिए ।

सिराहाकै मिर्चैयामा पनि लाइन काट्न गएको टोलीमाथि स्थानीयको अवरोध 
सिराहाकै मिर्चैयामा २४ साउनमा प्राधिकरणको टोली बक्यौता नतिरेका ग्राहकको घरमा लाइन काट्न गएको थियो । तर, सचेत नागरिक तथा युवा समूहले उद्योगीको अर्बौँ बक्यौता उठाउन छाडेर किन सर्वसाधारणको घरमा लाइन काट्न आएको भन्दै अवरोध गरेपछि टोली त्यसै फर्किएको थियो । पछि सोही समूहले सबै ग्राहकलाई समान व्यवहार गर्नुपर्ने भन्दै सिराहा वितरण केन्द्रलाई पत्र नै लेख्यो । ‘गरिबको थोरै बक्यौता हुँदा पनि बिजुली तुरुन्त काटिन्छ, तर राजनीतिक पहुँचवाला र ठुला कम्पनीलाई अर्बौँ बक्यौता हुँदा पनि विद्युत् दिइन्छ, यस्तो विभेदपूर्ण व्यवहार स्वीकार्य छैन,’ पत्रमा भनिएको थियो । नयाँपत्रिका दैनिक

समाचार वर्गहरू