काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलनाको मुद्दा दर्ता भएको छ।
अधिवक्ता अनुपम भट्टराईले लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी हुनेगरी आन्दोलन तथा अभिव्यक्ति दिएको दावी गर्दै रिट दायर गरेका हुन्। रिटमा मंसिर तीन गतेलाई पेशी तोकिएको छ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा अदालतलाई नै प्रभाव पार्नेगरी आन्दोलन गरेको दावी रिटमा गरिएको छ।
यसअघि उनले दिएको रिटमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। प्रशासनको दरपीठ गर्ने निर्णयविरुद्ध अधिवक्ता भट्टराईले पुन: रिट दायर गरेका थिए।
निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले,प्रवक्ता मनिष झा,विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।
विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन्।