रवि र छविविरुद्ध चितवनमा पनि उजुरी

54

काठमाडौं — सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले ठगी र संगठित अपराधमा उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने मागसहित प्रहरीमा पूरक उजुरी दिएका हुन् ।

बचतकर्ताले साहारा सहकारीबाट नियमविपरीत १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको भन्दै लामिछाने र जोशीविरुद्ध उजुरी दिएका हुन् । चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् । उनीहरू दुवै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध भने साहाराका बचतकर्ताले यसअघि नै उजुरी दिएका थिए ।

यसअघि अदालतमा दायर अभियोगपत्रमा ४ सय ४६ जना पीडित बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ भराउनुपर्ने देखिएको उल्लेख थियो । सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बचत जम्मा भएको अनुसन्धानले देखाएको थियो । कुल बचतकर्ता ६ हजार ३ सय ३४ जना छन् । बचत रकम र हाल दाबी गरेको रकममा फरक देखिएको १४ करोड ६७ लाख ७६२ रुपैयाँ भने पछि बचतकर्ताहरूको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोगपत्रमा उल्लेख छ ।

समाचार वर्गहरू