काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।
बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रियसभा सदस्य समेत रहेका नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने पनि बताए । जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउँदै सिटौलाले संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताए ।
‘हाम्रो विचारलाई वाद गरेर, हामीले अंगालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन । त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा । पार्टी विशेषको पक्षमा होइन । नेता विशेषको पक्षमा होइन,’ सिटौलाले भने ।
देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई कांग्रेसले प्रधानमन्त्री मानेर अघि बढेको बताउँदै उनले एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा कांग्रेसकै नीतिगत नेतृत्व भएको उनको दाबी थियो ।