अभियुक्तलाई छुटाइदिन्छु भन्दै ठगी गर्ने नक्कली प्रहरी निरीक्षक पक्राउ

52

काठमाडौं – प्रहरी हिरासतमा रहेका लागूऔषध कारोबारको मुद्दाका अभियुक्तलाई छुटाइदिन्छु भनि रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिन्छु भनि विभिन्न व्यक्तिहरूसँग रकम ठगि गरेको अभियोगमा सुनसरीको इनरुवा-६ का २२ वर्षीय आकाश उर्फ बिनोद दाहाल पक्राउ परेका हुन्।

उनले इलाका प्रहरी कार्यालय पकलीमा लागू औषध कारोबारको मुद्दामा हिरासतमा रहेका हेमन विश्वकर्मालाई छुटाइदिन्छु भन्दै रकम ठगि गरेको पाइएपछि पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। उनले विनोदले हेमनकी आमासँग आफू प्रहरी निरीक्षक भएको र भनेजति पैसा दिए उनलाई छुटाइदिने भन्दै ४० हजार रुपैयाँ ठगी गरेको बताए।

बिनोदले हेमनकी आमा लिला विश्वकर्मासँग सुरुमा २५ हजार लिएको र बाँकी १५ हजार दिएमात्र छुटाइदिने भनेपछि प्रहरीले पिछा गरि उक्त रकम लिँदै गरेको अवस्थामा सुनसरीको झुम्कास्थित लगौना चोकबाट उनलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए। उनले बिनोदको साथबाट ठगि गरिएको १५ हजार रुपैयाँ र एकथान मोबाइल बरामद गरेको बताए।

ठगी गर्ने विनोदविरुद्ध जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको समाचार अन्नपुर्णपोष्टमा प्रकाशित छ।

समाचार वर्गहरू