राष्ट्रियसभामा सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित

57
फाइल फोटो

काठमाडौं – प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभामा आफ्नो अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित भएको थियो।

राष्ट्रियसभाको शून्य समयमा सांसद नारायणदत्त मिश्रले शाहीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनेका थिए, “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ। भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति गम्भीर आपत्ति छ।”

सांसद जयन्तीदेवी राईले पनि शाहीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै राष्ट्रियसभाको सम्मानमा आँच आउने कुरा गरेको आरोप लगाइन्। उनले भनिन्, “सांसद शाहीले राष्ट्रियसभालाई ‘वृद्धाआश्रम र केही दिनको पाहुना’ भनेर दिएको अभिव्यक्ति निन्दनीय छ।”

शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत लेखेका थिए –

राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ?
वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्। यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए।
श्रीपेच फुकालेर सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका शहीदहरूको यिनीहरूलाई पाप लाग्छ। बोल्न र लेख्न पाउनुपर्छ भन्दै बलिदान दिएका शहीदहरुको पाप लाग्छ। जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वश्वर प्रसाद कोइरालाको पाप लाग्छ। जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको यिनीहरूलाई पाप लाग्छ।
यो राष्ट्रिय सभा को कुनै औचित्य छैन। वृद्रा आश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्यो राष्ट्रिय सभा। त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो।

समाचार वर्गहरू