भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना प्रहरी फन्दामा

125

काठमाडौं – राजावादीहरूले शुक्रबारको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा मच्चाएको लुटमा संलग्नहरू मध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त लुट प्रकरणमा संलग्नमध्ये सात जनालाई शनिबार पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराले गरेका छन् ।

प्रहरीले लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद भएका तस्बिर र भिडियोका माध्यमबाट राजावादी पक्राउ गरिरहेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा आएका सबै फोटो र भिडियो संकलन गर्ने कामलाई तीव्रता दिएको छ । ती फोटो र भिडियोका आधारमा पहिचान भएकामध्ये भाटभटेनी प्रकरणमा अहिलेसम्म सातजना समातिएका हुन् ।

प्रहरीका अनुसार भाटभटेनी लुटमा संलग्नमध्ये सिन्धुलीकी १५ वर्षीया चित्रमाया बस्नेत र १७ वर्षीया सुस्मिता बराल पक्राउ परेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोककी ३७ वर्षीया निर्मला कार्कीलाई पनि प्रहरीले भाटभटेनी लुटमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । उता नुवाकोटकी ४३ वर्षीया सुशीला कुमाल पनि यस प्रकरणमा नरेफाँटबाट पक्राउ परेकी छन् ।

त्यसैगरी धरानकी ४१ वर्षीया एलिसा राईलाई पनि प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । कोटेश्वरबाट ७० वर्षीया बालकुमारी कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । उनीहरू सबैलाई पक्राउपछि प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखिएको छ।

समाचार वर्गहरू