एसईईको उत्तरपुस्तिका जाँच्नै छोडेर शिक्षकहरू आन्दोलनमा

99

काठमाडौंं – यतिबेला विद्यालय तहको परीक्षा सकिएलगत्तै शिक्षकहरू पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै फेरि सडक आन्दोलनमा होमिएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा बुधबार माइतीघरमा देशैभरबाट करिब ४० हजार शिक्षक सडक आन्दोलनमा उत्रेका हुन्।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण गर्ने बेलामा सरकारदेखि निजी विद्यालयका शिक्षकसमेत यतिबेला राजधानीमा आन्दोलित छन्। यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेसम्म २०८१ सालको एसईईमा सहभागी सामुदायिक र संस्थागत ५ लाख १४ हजार ७१ विद्यार्थीको उत्तरपुस्तिका समेत जाँच नगर्ने अडान राख्दै आन्दोलनमा होमिएका हुन्।

यतिबेला शिक्षा विधेयक प्रतिनिधिसभामा पेस भई छलफलका क्रममा रहेकाले यसका कतिपय प्रावधानमा शिक्षकहरूको असहमति भएकाले आफ्ना माग पूरा गर्न आन्दोलित भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बताउँछन्। गत वर्ष सरकारसँग सहमति भएको सम्झौता कार्यान्वयन नभएपछि फेरि देशभरका शिक्षकहरू आन्दोलनमा उत्रन बाध्य भएको बताउँछन्।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो। तर, सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौंं केन्द्रित सडक आन्दोलन सुरु गरेको हो।

समाचार वर्गहरू