काठमाडौं – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरू सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै पुनः बैठकका लागि आह्वान गरेको हो ।
शुक्रबार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरू नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।
शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरू नआएको बताइन् ।
‘सरकार लचिलो छ । सरकारले शिक्षकका मागहरुलाई कतै पनि दृढताका साथ सम्बोधन गरेर अघि बढ्नेछ । आज आमन्त्रण गरिएको त्यसमा सिंगो सरकारले आह्वान गरेको छ,’ उनले भनिन्, ‘औपचारिक खबर आएन । हामीले डेढ घण्टा पर्खियौँ । उहाँहरू नआउनु भएपछि फेरि संवादका लागि आमन्त्रण गर्नेगरी आजको बैठक स्थगित गरेका छौँ ।’