काठमाडौं – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । बर्सैभरि तरकारी उत्पादन हुने पकेट क्षेत्रका रूपमा चिनिएको यस ठाउँमा मलको चरम अभाव रहेको छ ।
रामघाट कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण मोहन केवटले नगरपालिकाले हालै वितरण गरेको मलको कोटा अत्यन्त न्यून रहेको बताए । उनले भने, “एक पटकमा सात बोरा डिएपी र युरिया अनि चार बोरा पोटासको कोटा छ । तीनदेखि २२ कट्ठासम्म खेती गर्ने पाँच सय कृषक छन् । यस्तो न्यून परिमाणमा मल आएपछि कसरी बाँड्ने ? बाँड्न नमिल्ने हिसाबले मल आउने हुँदा कृषकबाट गाली खानु पर्छ ।”
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यको अनुगमन भ्रमणका क्रममा आइतबार कृषकले एकै स्वरमा मल अभाव, सिँचाइको कठिनाइ र बजार व्यवस्थापनमा समस्या रहेको गुनासो गरे । उनीहरूका अनुसार नेपालमा उत्पादन हुने सिजनमा भारतीय तरकारीको आयातले गर्दा स्थानीय उत्पादनको मूल्य घट्ने र लागत मूल्यभन्दा कममा बेच्नुपर्ने अवस्था आउँछ । कृषकले हाल टमाटर र बन्दाकोपी बिक्रीमै समस्या भइरहेको समितिसँग गुनासो गरेका छन् । समितिका सदस्य वीरबहादुर बलायरले तीन रुपियाँ केजीमा पनि तरकारी बिक्री नभएपछि बजार व्यवस्थापनमा गम्भीर समस्या देखिएको बताए ।
उनले भने, “तरकारीको पकेट क्षेत्र भए पनि सिँचाइको व्यवस्था कमजोर छ । जमिनमुनिको पानीको सतह झर्दै गएकाले स्यालो ट्युबेल जडान गर्न समेत कठिन भएको छ । यो विषयमा समितिको बैठकमा छलफल हुने छ ।”
प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, रूपा चौधरी, अनिता नेपाली, अशोक चौधरी, बिजुला रायमाझी, मीना तामाङ, सूर्यकुमारी श्रेष्ठ तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक वैकुण्ठ अधिकारीसहितको टोलीले धान, तरकारी र माछा उत्पादन गर्ने कृषकसँग प्रत्यक्ष भेटघाट गरी समस्या र उपलब्धिहरू सुनेको थियो । गोरखापत्र