नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

165

काठमाडौं – शिक्षक आन्दोलनका क्रममा आज नयाँ बानेश्वरमा शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ।

बिजुलीबजार-नयाँ बानेश्वर सडकखण्डमा भेला भएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा स्थिति तनावग्रस्त बनेको हो। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको जनाइएको छ।

भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको पुष्टि भएको छ भने स्थिति थप बिग्रन नदिन सुरक्षाकर्मीहरूले पानीको फोहोरा प्रयोग गरेर भीडलाई तितरबितर पारेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले ७ जना शिक्षक घाइते भएको बताए । सामान्य लाठीचार्ज र पानीको फोहरा हानिएको उनले बताए ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

समाचार वर्गहरू