दूध किसानसँगको सहमति अझै कार्यान्वयन भएन, माग पूरा गराउन आन्दोलनको तयारी

41

काठमाडौं – केन्द्रीय दुग्ध सहकारी संघले यसअघि सरकारले कृषकहरूसँग गरेको १० बुँदे सम्झौता हालसम्म पनि कार्यान्वयन नगरेको भन्दै फेरि आन्दोलनको अल्टिमेटम दिएको छ।

संघले गत वर्ष भएको आन्दोलनपश्चात् कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, किसान प्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयनका लागि माग गर्दै अल्टिमेटम दिएको हो।

सम्झौता तदारुकताका साथ लागू हुनुपर्ने माग गर्दै संघका अध्यक्ष अम्मरबहादुर कुँवरले माग पूरा नभए आगामी जेठ १ गतेबाट आन्दोलनका कार्यक्रम तय गरिने बताए। २०८१ जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरूले दूधको भुक्तानीका लागि आन्दोलन गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडबीच सहमति भएको थियो।

सहमतिअनुसार प्रत्येक दूध उत्पादक किसानहरूलाई दूध खरिद गरेबापत भुक्तानी हरेक महिनाको रकमको भुक्तानीलाई दुई किस्तामा गर्ने, महिनाको पहिलो १५ दिनको भुक्तानी सोही महिनाको २५ गतेभित्र र पछिल्लो १५ दिनको अर्को महिनाको १० गतेभित्र गरिसक्ने भनिएको थियो। तर किसानले लामो समयसम्म दूधको पैसा नपाउने समस्या समाधान हुन सकेन।

मन्त्रालयले दुग्ध विकास संस्थान र उद्योगीलाई कृषकहरूको चैत मसान्तसम्मको दूधको मूल्य वैशाख मसान्तभित्र भुक्तानीका लागि कडाइ गराउन माग गरेको छ।

अहिलेका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले दुध तथा उखु उत्पादक किसानको माग पुरा गर्ने आफ्नो प्रथमिकतामा रहेको बताएका थिए ।

करिब एक बर्षसम्म पनि सम्झौता कार्यान्वयन नभएपछी फेरी आन्दोलनको विकल्प नभएको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिएका छन्।

समाचार वर्गहरू