काठमाडौं – काठमाडौंको नक्सालस्थित पाँचतारे होटल हिल्टन बिक्री सम्बन्धी समाचार भ्रामक र आधारहीन भएको बताइएको छ।
जगदम्बा हस्पिटालिटीले आइतबार विज्ञप्ति जारी गरी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हिल्टन होटल बिक्री सम्बन्धी समाचार भ्रामक र आधारहीन समाचार प्रकाशन तथा प्रसारण भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय चेन होटल हिल्टन काठमाडौं कुनै पनि बिक्री प्रक्रियामा नगएको र यसबारे कहीँ कतै छलफल समेत नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर हुँदै नभएको विषय सिर्जना गरी सार्वजनिक यस्ता भ्रामक समाचारले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने छ,’ विज्ञप्तिमा छ, ‘यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने छ ।’
हिल्टनले अतिथि, साझेदार र सम्पूर्ण हितग्राहीलाई दीर्घकालीन सेवा र उच्चस्तरीय आतिथ्यता प्रदान गर्ने प्रतिबद्धता सहित सञ्चालनमा रहेको जगदम्बा हस्पिटालिटीले जनाएको छ ।
केहिदिनदेखि होटल हिल्टन नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर शहादुर देउवाका छोरा जयबिर देउवाले खरिद गरेको भन्ने समाचार सामाजिक सञ्जाल तथा केहि अनलाइनमा समेत आएको थियो ।