फेरि अमेरिकाबाट फर्किए ३७ नेपाली

137

काठमाडौं – अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र  ५ महिला मध्यरातमा काठमाडौं उत्रिएका छन् ।

अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरुलाई आइतबार मध्यराति फर्काएको हो ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । आइतबारसम्म १ सय ७७ नेपाली निष्कासनमा परिसकेका छन् ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएको वरिष्ठ अध्यागमन अधिकृत एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन । प्रवक्ता न्यौपानले, ‘हाम्रो इमिग्रेसनमा आउँदा सामान्य थिए, विमानमा के थियो थाहा हुने कुरा भएन ।’

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुसँग सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी थालेको छ । यसअघि अमेरिकाबाट डिपोर्टमा परेर फर्केकासँग पनि ब्युरोका अनुसन्धान अधिकारीहरुले सोधपुछ गरेका थिए । उनीहरु कसरी अमेरिका पुगे, किन डिपोर्टमा परे र यो घटनामा स‌ंगठित मानव तस्करीको भूमिका के छ भनेर ब्युरोले चासो राखेको छ ।

समाचार वर्गहरू