जबर्जस्ती सदन चलाउँदै सभामुख, बजेट छलफलमा सत्तापक्षकै कुर्सी खाली

83

काठमाडौं – भिजिट भिसाको आवरणमा भएको मानव तस्करी प्रकरणको छानबिन र आरोपित गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने आवाज रोक्दै सभामुख देवराज घिमिरेले सोमबार पनि प्रतिनिधिसभाको बैठक जबर्जस्ती चलाएका छन् ।

उच्चस्तरीय छानबिन समिति र गृहमन्त्री लेखकको राजीनामा मागेर चौथो दल रास्वपाले नाराबाजीसहित वेल घेराउ गरिरहँदा र पाँचौँ दल राप्रपाले उठेर अवरोध गर्दा पनि सभामुख घिमिरेले पेलेरै बैठक चलाए का थिए। बजेटमाथिको छलफलका क्रममा सत्तापक्षकै ‘रो’का अधिकांश कुर्सी रित्ता थिए ।

तटस्थ भूमिकालाई लिएर पटक–पटक प्रश्न उठ्दै आए पनि सभामुख घिमिरेले गत शुक्रबार र आइतबार पनि विपक्षीको अवरोधबिच बैठक कार्यसूची प्रवेश गराएर चलाएका थिए । सोमबार पहिलो बैठक साढे चार घण्टा चलाएका सभामुख घिमिरेले आगामी आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्यय (बजेट) को वार्षिक अनुमानमाथिको छलफल सकाएका छन् ।

१५ मिनेटपछि दोस्रो बैठक राखेर साढे ३७ मिनेट चलाएका सभामुख घिमिरेले विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल गराई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गराएका छन् । खर्च कटौती प्रस्ताव राख्न ४ असार ४ बजेसम्मको समय दिएका छन् । र, विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमा छलफलका लागि ५, ६, ७ असारलाई समय तोकेका छन् ।

समाचार वर्गहरू