काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार उनलाई दुवै मुद्दामा दोषी ठहर गरेको हो।
मेयर बस्नेतले स्वार्थ गाँसिएका पद्मा कोलोनी प्रालि तथा पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको देखिन आएको अदालतको ठहर छ।
मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। गैरकानुनी रूपमा घुस लिएर प्राप्त गरेको रकम र जग्गा आफ्नो नाममा धारण गरी जग्गाहरू कित्ताकाट गरी विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री–वितरण गरेको एवं हक हस्तान्तरण गरेको देखिएको फैसलामा उल्लेख छ। यसबापत १३ करोड १२ लाख ७३ हजार बिगोबराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आएको फैसलामा छ।
दुवै मुद्दामा बाँकी प्रतिवादी सबैले सफाइ पाएका छन्। ठहर भएका मेयर र कँडेलका हकमा सजाय निर्धारणका लागि सुनुवाइ गर्न यही १६ गते पेसी तोकिएको छ। दोषी ठहर भएसँगै उनी मेयरबाट पदमुक्त भएका छन्।
गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दामा भने मेयर बस्नेतले सफाइ पाएका छन् । आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीविरुद्ध २७ माघमा मुद्दा दायर गरेको थियो। यस मुद्दामा उनले सफाइ पाएका हुन्।