काठमाडौं – नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्याए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।
नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल शनिबार हुनेछ ।