बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासकाे मत

116

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । उनले मंगलबार साँझ बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत पाएका हुन् ।

बागमती प्रदेशसभामा आज भएको मतदानमा कुल ९२ जना प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्री बानियाँको पक्षमा ६३ जनाले र २२ जनाले विपक्षमा मत दिएका छन्। त्यस्तै, ७ जना सदस्य तटस्थ रहे।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा उनका पक्षमा ६३ मत आएको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ र साझेदार एमालेका २७ सभासद् छन् ।

नेकपा एमाले र कांग्रेस गठबन्धनका साउन २० गते बानियाँ मुख्यमन्त्री बनेका थिए । तर कांग्रेसभित्रै निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधर १४ सांसद असन्तुष्ट भएपछि मंगलबार दिउँसो ४ बजेलाई तोकिएको विश्वासको मत लिने तालिका पछि सरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि असन्तुष्ट पक्ष हेटौँडा आएर संसदीय दलको बैठक बसेर एकमना भएर अघि बढ्ने निर्णयपछि बानियाँलाई सहज बनेको हो ।

यस्तै प्रतिपक्षी नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

समाचार वर्गहरू