संसदमा बर्तौलाको प्रश्न – बिगो स्विकार्नु आफैँमा अपराधको स्वीकारोक्ति होइन ?

113

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपा सभापति रवि लामिछाने स्वयंले बिगो स्विकारेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बर्तौलाले राजनीतिक प्रतिशोध भन्दै रास्वपाका सांसदहरूले गरेको विरोध नाटक प्रमाणित भएको समेत टिप्पणी गरेका छन्।

बर्तौलाले भने, ‘तपाईंको दलको अध्यक्ष स्वयंले बिगो स्विकार गरेर घुमाउरो तरिकाबाट अभियोग स्वीकार गर्ने तहमा पुगेपछि राजनीतिक प्रतिशोध भनेर लगाइएको आरोप नाटक हो भन्ने प्रमाणित भएन र ?’

रास्वपाले राजनीतिक प्रतिशोध भन्दै जसको नाममा चन्दा संकलन गर्‍याे उसैले बिगो स्विकारेर जमानतमा छुट्न निवेदन दिएर अपराध स्वीकार गरेको बर्तौलाको तर्क छ।

उनले भने, ‘जसका नाममा तपाईंहरू हस्ताक्षर गर्दै हुनुहुन्थ्यो राजनीतिक प्रतिशोध भनेर तिनै व्यक्तिले बिगो स्वीकार गरेर जमानतमा छुटिपाऊँ भनेर निवेदन दिए। बिगो स्विकार्ने कुरा आफैँमा अपराधको स्वीकारोक्ति होइन ?’

रास्वपाका कार्यकर्ताले संगठित रूपमा सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीहरूमाथि गालीगलौज गरिरहेको भन्दै यस्ता कार्यशैली सुधार गर्न सुझाव दिए। अन्यथा भविष्यमा यही विषय आफैँलाई भारी हुने उनको भनाइ छ।

समाचार वर्गहरू