गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

158

काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेका छन् ।

ती मध्येकी एक हुन्, पविना माझी । उनी लामो समयसम्म माछा मार्ने र हिउँदभरि खोलामा बालुवा चालेर जीविकोपार्जन गरिरहेकी छन् । पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको माझीले बताइन ।

पविना जस्तै यहाँका धेरैजसो माझी समुदायका महिलाहरूले गलैँचा बुन्ने सीपबाट आम्दानी गरिरहेका छन् । पुख्र्यौली पेसा खोलामा माछा मार्ने, बालुवा चाल्ने कामले घरायसी जिम्मेवारी चलाउन, छोराछोरीलाई पढाउन र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ हुन्थ्यो, तर गलैँचा बुन्ने सीप सिकेपछि जीवनयापनमा सहज भएको  स्थानीय सोममाया माझीले बताइन ।

खेतीपाती र घरायसी काम सकेर बिहान र बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा १० हजार रुपैयाँ कमाई हुने गरेको उनले सुनाइन ।  नगरपालिका वडा नं ११ अध्यक्ष रोशन गिरीले यहाँका ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको बताए ।

यसरी बुनिएका गलैँचा राजधानी काठमाडौं लगेर बिक्री गर्ने र कच्चापदार्थ पनि सोही ठाउँबाट आउने व्यवस्था मिलाइएको उनले बताए । ‘हाल यहाँका २० वर्षदेखि ५० वर्ष उमेर पुगेकाहरू पनि गलैँचा बुन्नमा व्यस्त हुन्छन् । महिलाहरूलाई पुरुष सदस्यले पनि साथ दिन थालेका छन् । यसले आम्दानीको आधार बनेको छ’, वडाध्यक्ष गिरीले भने, ‘महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गरिरहेका छौँ । यो वर्ष थप ४० थान तान वितरण गरिएको छ । यसलाई निरन्तरता दिन्छौँ ।’

माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थाले पनि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन् । यसले बिस्तारै महिला आर्थिक उन्नति गर्दै आत्मनिर्भर बन्न थालेका छन् ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि पर्यटन, कृषिसँगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको बताए । युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै  विभिन्न सीपमूलक कार्यक्रम गर्दै रोजगार सिर्जनाको प्रयास भइरहेको उनको भनाइ छ । रासस

समाचार वर्गहरू