काठमाडौँ । काठमाडौँ उपत्यकाका अतिक्रमित बस्ती हटाउने क्रम जारी रहेको छ ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले हालसम्म थापाथली, गैरीगाउँ–सिनामङ्गल र शान्तिनगरका सात सय ८१ घर भत्काएको जानकारी दिए ।
उनका अनुसार काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती थापाथलीमा एक सय ४३, वडा नं ९ को गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा एक सय ६२ र वडा नं ३१ को शान्तिनगरमा चार सय ७६ गरी सात सय ८१ घर भत्किएका हुन् ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार अब ९० वटा घर भत्काउन बाँकी छ । प्राधिकरणले अब गोठाटारका ७७, मनोहरा टोलमा १३ घर भत्काउन बाँकी रहेको जनाएको छ ।
सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रलाई सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो ।