अब एकल पुरुषलाई पनि भत्ता

17

सिन्धुपाल्चोक –  एकल महिलाले जस्तै अब एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।

गाउँपालिकाको पाँचौं गाउँसभाबाट आवश्यक बजेट विनियोजन गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको जनाएको छ । २० लाख रुपैयाँ बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको गाउँपालिकाले जनाएको छ ।

एकल पुरुष र महिला दुवैलाई दर्ताका लागि सूचना जारी गरिसकेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । पुरुष र महिलालाई व्यावहारिक रूपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बताएको उनले बताए ।

स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको उनले बताए । झन्डै १८ हजार जनंसख्या भएको गाउँपालिकामा हेलम्बु, किउल, पाल्चोक, इचोक र महांकाल गरी ७ वडा छन् ।

एक जनालाई ५ सय रुपैयाँका दरले भत्ता दिने व्यवस्था गरिने जनाएको छ ।

मेलम्ची नगर र पाँचपोखरी थाङपाल गाउँपालिकासाग जोडिएको हेलम्बुले एकल पुरुष र महिलाको अवस्थाबारे अध्ययन गर्दै नयाँ अभियान ल्याउन लागेको हेलम्बु वडा ३ का अध्यक्ष छिरिङ लामाले बताए । गाउँपालिकाका अध्यक्षसँग समन्वय गरेर सात वटै वडाका जनप्रतिनिधि बसेर यसबारे व्यापक छलफल थालेको उनले बताए ।

समाचार वर्गहरू