अब मुलुक अर्ली निर्वाचनमा जान्छ – नेता कोइराला

21

मोरङ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधिसभा पुन:स्थापना भएसँगै अब राजनीतिक स्थिरताका लागि मुलुक अर्ली निर्वाचनमा जाने बताएका छन् । कोइराला निवासमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अब संसद्‌मा संख्याको खेल सुरु हुने भएकाले समयअगावै निर्वाचन हुने बताएका हुन् ।

संविधानको धारा १०० बमोजिम कुनै पनि दललाई बहुमत प्राप्त गर्न कठिन रहेकाले एक वा डेढ वर्षभित्र मुलुक निर्वाचनमा जाने कोइरालाको भनाइ थियो ।अहिले कांग्रेस पर्ख हेरको भूमिकामा रहनुको विकल्प नभएको उनले बताए ।

‘नेकपा दाहाल–नेपाल र ओली समूह फुट्ने संघारमा भए पनि फुटिसकेको अवस्था नभएकाले कांग्रेसले दुबै समूहसँग कुरा गर्नुको औचित्य छैन,’ उनले भने, ‘तर कांग्रेसले सबै दललाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’ उनको भनाइ थियो ।

कोइरालाले पुस ५ गतेपछि नियुक्त भएका संवैधानिक आयोगका पदाधिकारीहरुलाई खारेज गर्नुपर्ने बताए । ‘शक्ति सन्तुलनको सिद्धान्तमा संवैधानिक परिषदं‌मा भएको व्यवस्था पुस ५ गतेपछि अध्यादेश ल्याएर असन्तुलन बनाएकाले त्यो पनि सच्चिनु पर्छ,’ उनले भने, ‘यसमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि जनताले शंकाको घेरामा राखेका छन् ।’ उनको भनाइ थियो ।

 

समाचार वर्गहरू