अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न डा. केसीको माग

18

काठमाडौं — त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले अवैध शुल्क लिने मेडिकल कलेजलाई दण्डित गर्न माग गरेका छन् । निजी मेडिकल कलेज अवैध रुपमा विद्यार्थीसँग शुल्क उठाएको भन्दै फिर्ता गराएर दोषी मेडिकल कलेजलाई दण्डित गर्नुपर्ने उनको माग छ ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर केसीले कलेजहरुले लिएको अवैध शुल्क फिर्ता नगरे सत्याग्रह सहितको विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै केसीले रकम फिर्ता लगायत पूर्वसहमति कार्यान्वयन नभए जुनसुकै बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

कलेजले बढी लिएको रकम फिर्ता नगरे सम्म आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण र विद्यार्थी काउन्सिलिङको काम अघि बढाउनु नहुने उनको भनाई छ । शुल्क र सिट वैज्ञानिक रुपमा निर्धारण गर्न समेत उनले चिकित्सा शिक्षा आयोगको ध्यानार्कषण गराएका छन् । सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनको संशोधन गर्नुपर्ने केसीको माग छ ।

उनले विश्वविद्यालयहरुमा योग्यता र वरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत चिकित्सा शिक्षाको पढाई सुरु गर्न माग गरेका छन् । विज्ञप्ति मार्फत प्रत्येक प्रदेशमा मेडिकल कलेज पुर्‍याउने कामलाई गम्भीरता साथ कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालय प्रतिष्ठानहरुमा दलीय भागबण्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्ने र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्ने उनको माग छ । पराशर कोइरालाको संयोजकत्वमा बनेको समितिले पदाधिकारी नियुक्तिको मापदण्डबारे प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

सो प्रतिवेदन कार्यान्वयन गरेर मात्रै विश्वविद्यालयहरुमा नियुक्ति गर्न सरकारलाई आग्रह गर्दै फेरि पनि दलीय भागबण्डाबाट पदाधिकारी नियुक्ति भएमा त्यो आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

समाचार वर्गहरू