काठमाडौं – अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल सर्बियाको बेलग्रेडतर्फ प्रस्थान गरेका छन् ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्य शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । उनी भने आज मात्र त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी छन् । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी छन् ।
उक्त सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । महिला सांसद सदस्यहरुको १३ अक्टोबरमा हुने बैठकमा प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्माले भाग लिने छन् ।
अक्टोबर १४ मा हुने युवा सांसद सदस्यहरुको बैठकमा नेपालको तर्फबाट राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले भाग लिने छन् । साथै, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले पनि एसोशिएसन अफ सेक्रेटरी जेनेल अफ पार्लियामेन्टको बैठकमा भाग लिने कार्यक्रम रहेको छ ।
नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य रह्को आईपीयूको १४१ औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ ।