काठमाडौं – कात्तिक २५ गते नेपालका १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८ औँ जन्म जयन्ती हो । प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ।
विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिनु भएका फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ । १९८८ साल वैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तरगत १० लिम्बुवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थाल्नुभएको थियो ।
सत्य धर्म मुचुल्कामा छोरी छोरीलाई समान शिक्षा र अंशबन्डा दिने लिने हक कायम गर्ने गराउनु पर्ने उल्लेख छ । सुनौली रुपौली र दाइजो प्रथा अन्त्य गनुपर्छ । छोरीहरू देवीमाता हुन उनीहरुको बिहे गर्दा कुटुम्बवाट रीत लिनु पनि पाप हो । उनीहरुलाई दिइने दाइजोको सट्टा शिक्षा दिक्षा राम्ररी दिएर स्वलम्वि बनाइदिनु उत्तम जस्ता महत्त्वपूर्ण बुँदा सत्यधर्ममा उल्लेख छन् ।
उहाँको निधन २००५ साल चैत २२ गते भयो । उनलाई नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको छ ।