इजरायली लगानीकर्तालाई लगानीका लागि प्रेरित गर्न सरकारको आग्रह

13

(काठमाडौं) – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले इजरायली लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रेरित गरिदिन इजरायली विकास नियोग (मसाभ)का प्रमुखलाई आग्रह गरेका छन् ।

मन्त्री पुन र इजरायली विकास नियोग मसाभका प्रमुख गील हसकेलबीच सोमबार भएको भेटवार्ताका क्रममा उनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जामा इजरायली लगानीकर्तालाई लगानीका लागि प्रेरित गरिदिन आग्रह गरेका हुन् ।

सिंहदरस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षिय सहयोगका साथै आपसी हितको विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले सरकारले ५ वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतको लागि आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी गराएका थिए ।

उनले भने, ‘नेपालमा प्रशारण लाइन, जलविद्युत र सोलारमा पनि सहकार्य गर्न अवसर छ, इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि प्रेरित गरिदिन आग्रह गर्छु ।’

मन्त्री पुनले नेपाल विद्युत प्राधिकरण र विभिन्न सरकारी कम्पनीहरु मातहत १२ हजार भन्दा बढी कर्मचारी भएको भन्दै तालिम र क्षमता अभिवृद्धिका कार्यक्रममा सहकार्य गर्न सकिने बताए ।

भेटमा विकास नियोग मसाभका प्रमुख हसकेलले स्मार्ट ग्रिड, पावर स्टेशन र स्मार्ट सोलुशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताए ।

छलफलमा ऊर्जा मन्त्रालय मातहतका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धिका लागि सहयोग गर्न सकिने विषयमा समेत छलफल भएको थियो ।

समाचार वर्गहरू