इन्द्रेणीका कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता

19

काठमाडौं – इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । 

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।

आफूलाई पटकपटक करणीको प्रयास गरिएको र महिलाकै कोठामासमेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । 

पीडित महिलाले मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कारबाहीका लागि फिराद दर्ता गराएकी काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणीसम्बनधी कसुर उल्लेख छ भने दफा २२३ मा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने सम्बनधी कसुरबारे उल्लेख छ । त्यस्ता व्यक्तिलाई करणी गरेमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । 

त्यसैगरी संहिताको दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने सम्बन्धी कसुर उल्लेख छ । यदि कसैले कसैलाई यौन दुर्व्यवहार गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू