एजेन्सी/वासिङ्टन – अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई पत्र लेख्दै इरानसँग ‘बिनाशर्त गम्भीर वार्ता’ गर्न तयार रहेको जनाएको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पर्नबाट जोगाउन र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्न अमेरिका बिनाशर्त वार्ता गर्न तयार रहेको अमेरिकी दूत केली क्राफ्टले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १५ बमोजिम सुलेमानीको हत्या उचित भएको दाबी गर्दै अमेरिकाले आफ्नो बचाउ समेत गरेको छ । राष्ट्रसंघको धारा १५ अनुसार कुनैपनि राज्यले आफ्नो रक्षा गर्न गरेको कुनै पनि कारबाहीका विषयमा तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने प्रावधान छ ।
अमेरिकी जनता र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने पनि पत्रमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।
इरानले पनि सोहि धाराकै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमणलाई उचित ठहर गरेको छ । अमेरिकी सैन्य शिविरमा आफ्नो रक्षार्थ आक्रमण गरिएको तर्क इरानले गरेको छ ।