काठमाडौं – काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । यो सँगै बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरेको छ ।
मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाएको छ । तरकारी बजार पनि संक्रमणको स्रोत भएको निष्कर्ष निकाल्दै दैठकले विक्र वितरणमा रोक लगाएको हाे ।
यस्तै बैठकले सबै निर्माण कार्य पनि रोकिने जनाएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय बैठकले गरेको हो । निजी निर्माण कार्यमा पनि रोक लगाउने निर्णय गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिएपनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।
उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ । सरकारी कार्यालयमा आन्तरिक कामका लागी थोरै कर्मचारी कार्यालय जाने र कर्मचारीलाई पनि अनावश्यक हिँडडुलमा रोक लगाउने निर्णय गरिएको छ ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हाे ।