उपनिर्वाचनका लागि दलहरुले गरे मनोनयन दर्ता

20

(काठमाडौं) – आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभाको एक र प्रदेशसभाको ३ स्थानका लागि दलहरुले आज मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा तर्फ कास्की २ तथा प्रदेशसभा तर्फ भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ ख मा मंसिर १४ गते उपनिर्वाचन हुनेछ । सोही दिन स्थानीय तहका प्रमुख, अध्यक्षसहित रिक्त रहेका ४८ सिटका लागि पनि निर्वाचन हुनेछ । ती पदका लागि भने आगामी बुधबार मनोनयन दर्ताको समय तोकिएको छ ।

मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० देखि दिउँसो एक बजेसम्मको समय तोकेको थियो । सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले आजै उम्मेद्वारहरुको प्रारम्भिक सूची प्रकाशन गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । पर्सि शनिवार २३ गते उजुरी उपर जाँचबुझ गर्ने र सोहि दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रवक्ता श्रेष्ठले बताए । २४ गते उम्मेदवारी फिर्ताकालागि समय दिने र सोहि दिन अपरान्ह अन्तिम नामावली प्रशासन गर्ने आयोगको तयारी छ ।

आयोगले २५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेछ । उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मताधिकार प्रयोग गर्ने छन् जसमध्ये १६ हजार २ सय १९ नयाँ मतदाता छन् ।

समाचार वर्गहरू