काठमाडौं – स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ। निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो।
४१ पदका लागि निर्वाचन भएको थियो भने ३ पदमा उम्मेदवारहरू सर्वसम्मत भएका थिए। जसमा दुई जना जिल्ला समन्वय समितिका प्रमुख रहेका छन् भने एक जना वडाध्यक्ष रहेका छन्। यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको हो।
आयोगका अनुसार नेपाली कांग्रेसले एक नगरपालिकाको मेयर र १६ वडामा जित हासिल गरेको छ। कांग्रेसले जम्मा १७ ठाउँमा जित निकालेको छ।
नेकपा माओवादी केन्द्रले एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाको उपाध्यक्ष, एक नगरपालिकाको उपमेयर र ७ वटा वडा (सर्वसम्मतसहित) मा जित हात पारेको छ। माओवादीले जम्मा ११ स्थानमा जित हात पारेको छ।
यस्तै नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजय हासिल गरेको आयोगले जनाएको छ। ८ स्थानमा एमाले विजयी बनेको छ।
यस्तै जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजयी हासिल गरेका छन्।