उपनिर्वाचनमा स्थानीय तहमा बदर मत धेरै

20

(काठमाडाैं) –  गत शनिबार सम्पन्न उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा भन्दा स्थानीय तहमा धेरै मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक सिट (कास्की–२), प्रदेशसभाका –३ (भक्तपुर १ (क), बाग्लुङ–२ (ख), दाङ–३ (ख) मा भन्दा स्थानीय तहमा मत बदर बढी देखिएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्ति अनुसार प्रतिनिधिसभाको कास्की–२ मा ६ सय मत बदर भएको छ । सो क्षेत्रमा कुल मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ४६ मतदाताले मतदान गरेका छन् । जसमध्ये सदर मत संख्या ४४ हजार ९ सय ४६ र सदर भएको छ भने ६ सय मत बदर भएको आयोगले जनाएको छ ।

प्रदेशसभाका ३ सिट भक्तपुर–१ (क), बागलुङ–२ (ख) र दाङ–३ (ख) मा १ लाख ४८ हजार ९ सय १८ मतदाता रहेकोमा ९८ हजार ७ सय ३४ जनाले मतदान गरेका थिए । तीन स्थानमा गरी १ हजार ६ सय ६७ मत बदर भएको छ ।

स्थानीय तह तर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख–१, पाँचथरको फाल्गुनानन्द गाउँपालिकाको अध्यक्ष–१, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष–१ र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष–१ को वडा अध्यक्षको लागि उपनिर्वाचन भएको थियो ।

यस्तै, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न नगरपालिका र गाउँपालिकाका वडा अध्यक्ष–४३ गरी जम्मा ४८ पदको लागि उपनिर्वाचन भएको थियो । स्थानीय तहमा कुल मतदाता संख्या २ लाख ३३ हजार ३ सय २५ मध्य १ लाख ५४ हजार ८ सय ३५ जनाले मतदान गरेका थिए । जसमा २ हजार ७ सय ७० मत बदर भएको आयोगले जनाएको छ ।

धरान उपमहानगरपालिका प्रमुखमा मात्रै मतदाता संख्या ९२ हजार ८ सय ५३ छ । ती मध्य ५४ हजार ८ सय ४६ जनाले मतदान गरे । जसमध्ये ५३ हजार ७ सय ५ मत सदर भयो । १ हजार १ यस ४१ मत बदर भयो । जुन २.०८ प्रतिशत हो ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा हुने निर्वाचनमा मतदाता संख्या ३ हजार तीन सय ८७ रहेकोमा २ हजार ८ सय ६९ जनाले मतदान गरे जसमध्ये २ हजार ८ सय ४९ मत सदर र २० मत बदर भयो जुन ०.७० प्रतिशत हुन्छ । यो बदर मत प्रतिशत २०७४ सालको निर्वाचनको तुलनामा कम भएको श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

समाचार वर्गहरू