उपाधिका लागि काठमाडौं र चितवनबीच प्रतिस्पर्धा हुँदै

16

(काठमाडौं) – पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधिको छिनोफानो आज (बिहिबार) हुँदैछ । उपाधिका लागि आज क्याट क्वीन्स काठमाडौं र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा आज ११ बजेर ३० मिनेटमा काठमाडौं र चितवनबीच उपाधिका लागि प्रतिस्पर्धा सुरु हुनेछ । चितवन लिग चरणको सबै खेलमा सत प्रतिशत जित हात पार्दै फाइनलमा पुगेको हो ।

यता, काठमाडौं भने इलिमिनेटर खेलमा विराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनल पगेको टिम हो । लिग चरणमा भएको खेलमा चितवनले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो ।

काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रनेछ भने चितवनको नेतृत्व ईन्दु बर्माले गर्नेछिन् । प्रतियोगिताको अपराजित टिम चितवन सोही लयलाई कायम राख्दै प्रतियोगिताको उपाधि उचाल्ने दाउमा छ ।

तर चितवनसंग पहिलो खेल गुमाएर उत्कृष्ट पुनरागमन गरेको काठमाडौं समेत उपाधि भिडन्तमा आफुलाई आफुलाई प्रमाणित गर्ने प्रयास गर्नेछ ।

सर्वाधिक धनराशिको महिला च्याम्पियन्स लिग क्रिकेटको विजेता टिमले सात लाख नगदसहित ट्रफी हात पार्नेछ । त्यस्तै, उपविजेताले तीन लाख नगद पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीले टीभीएस स्कुटरसहित ५० हजार रुपैयाँ नगद हात पार्नेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सवुमन र बलरले जनही २५ हजार प्राप्त गर्ने छन् ।

समाचार वर्गहरू