काठमाडौं – सुशीला कार्की नेतृत्वको चुनावी सरकारले बिहीबार पूववर्ती सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्दा ३ देशकालाई भने गरिएको छैन ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, कोरियाकी शिवमाया तुम्वाहाङ्फे र डेनमार्ककी सुम्निमा तुलाधरलाई भने कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएको छैन ।
उनीहरुलाई पनि केपी शर्मा ओली नेतृत्वकै सरकारले नियुक्त गरेको थियो । महिला प्रधानमन्त्री भएकाले महिला राजदूतलाई भने उनले फिर्ता नगरेको अर्थ लगाइएको छ ।
तानिएका राजदूतहरुमा चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनी डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशबिक्रम ढकाल, स्पेनका सनिश नेपाल छन् ।
उनीहरुलाई २० कात्तिकभित्र फर्कन निर्देशन दिने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।