एनआरएनएको बुधबार स्थगित निर्वाचन आज

16

काठमाडौैं  – भोटिङ मेसिनले काम नगरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को बुधबार स्थगित भएको निर्वाचन आज हुने भएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन आज बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ ।

एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । मतदानका लागि भेला भएका प्रतिनिधिहरु लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो । विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकहरुले बताएपनि आन्तरिक विवादका कारण भोटिङ रोकिएको स्रोतको भनाइ छ ।

मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भएको थियो । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भनिए पनि ढिला गरी सुरु भएको मतदान मेसिन बिग्रिएपछि स्थगित गरिएको हो ।

एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेले बताए । भोटिङ मेसिन बनाएपछि आज बिहान १० बजेसम्मका लागि मतदान सारिएको हो । एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् ।

महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार ४ उपाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् । सम्मेलनमा विधानविपरीत प्रतिनिधिहरुको घुसपैठ भएको भन्दै एक पक्षले उजुरी दिएका कारण मतदान रोकिएको असन्तुष्ट पक्षको भनाइ छ ।

गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको नवौं विश्व सम्मेलन आजसम्म चल्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यसूची छ ।

समाचार वर्गहरू