काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन पर्सिसम्म सञ्चालन हुनेछ ।
एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो ।
आज हुन लागेको नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयन लगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्ने एनआरएनएले जनाएको छ ।
एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले आकांक्षा देखाउने गरेपछि अघिल्ला महाधिवेशनदेखि नै एनआरएनएमा रोचक चुनावी भिडन्त हुने गरेको छ । यस वर्ष पनि विगतझैं कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।
अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा छन् । पन्त वाम र आचार्य प्रजातान्त्रिकनिकट मानिन्छन् । दुवैले नयाँ नेतृत्वका लागि आफू योग्य भएको दाबी गर्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रचार तीव्र पारेका छन् ।
उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ । यसअघि प्रायः सहमतिमा यी पद पूर्ति हुने गरे पनि यसपटक अध्यक्षको तुलनामा बढी आकांक्षी देखिएका छन् । उपाध्यक्षका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहे पनि बद्री केसी, सोनाम लामा, रवीना थापा, केशव पौडेल, नरेन्द्र भाट, हिक्मत थापा, अर्जुनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान । पन्तको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नुवाकोट तारुकाका धर्मराज अधिकारीलाई पनि बलिया उम्मेदवारका रूपमा हेरिएको छ ।
महाधिवेशनले १ महासचिव, २ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १र१ जना निर्वाचित गर्नेछ । यी पदमा पनि धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।
प्रत्येक क्षेत्रीय समितिबाट एकरएक गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी, क्षेत्रीय उपसंयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने एनआरएनएले जनाएको छ । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।
त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २र२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १र१ जना क्षेत्रीय उपसंयोजक चयन हुनेछन् ।
प्रत्येक क्षेत्रबाट १र१ जनाका दरले ६र६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ । विभिन्न पेसा–व्यवसायको सिलसिलामा ८० लाख नेपाली देश बाहिर रहेको अनुमान छ । एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरू संगठित छन् ।
आफ्नो छाता संगठनको सांगठनिक सुदृढीकरण, नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णय महाधिवेशनमार्फत हुने भएकाले विदेशमा रहेका नेपालीहरूमा चटारो बढेको छ । एनआरएनएले सोमबार दिएको जानकारी अनुसार, सम्मेलनमा सहभागिताका लागि २५ सय प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।
काठमाडौंमा सम्मेलन उदघाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयन दर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ ।
बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने समितिको सूचनामा उल्लेख छ ।