एनपिएलमा भारतीय ‘सट्टेबाज’को बिगबिगी, एकैदिन आठ जना पक्राउ

64

काठमाडौं –  नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजी लगाउने आठ भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा जारी क्रिकेट मैदानपरिसरबाटै ६ मंसिरमा पक्राउ गरेको हो । उनीहरू सट्टेबाजी लगाउनका लागि भारतदेखि काठमाडौं आएको प्रहरीको अनुसन्धानमा पाइएको छ ।

अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने भारत आन्द्र प्रदेश प्रकासम पामुर गाउँका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, भारत आन्द्र प्रदेश प्रकासम कोइलमपटका ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू टिकट काटेरै मैदानभित्र प्रवेश गर्थे । डाटामार्फत चलाइएको इन्टरनेटमा ‘बेटाकुलर डट लाइभ’ साइट स्ट्रिमिङ र क्रिकेटको बाजी लगाउँथे । हारजितको रकम आदान–प्रदान गर्न क्युआरमार्फत भारतीय बैंक प्रयोग गर्थे ।

अनलाइनमार्फत बाजी लगाउने र मैदानमै सहभागी भएर बाजी लगाउने समयमा अन्तर केही मिनेटको हुन्छ । अर्थात् मैदानमा जारी खेल अनलाइनमार्फत लाइभ हुँदा ‘रियल टाइम’ भन्दा पाँच मिनेट ढिलो प्रसारण हुन्छ । यही समयको अन्तरमा मैदानमा बसेर सट्टेबाज लगाउनेले चलाखीपूर्वक बाजी जित्न पुग्छ ।

समाचार वर्गहरू