रासस/गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको टिप्पणी गरेका छन् । सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै उनले बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने उल्लेख गरे ।
आज मंगलबारदेखि गुल्मीमा शुरु भएको स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गरे ।
चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको उनले बताए ।
पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै पार्टीहरु कमजोर हुँदा लोकतन्त्र समेत कमजोर हुने उनले बताए । दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढेको भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएको जिकिर समेत गरे ।
जनताको वर्षांैदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए ।