काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्ने विकल्प खुला राख्ने निर्णय भएको बताइएको छ।
सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको बैठकपछि पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।
‘निर्वाचनको प्रारम्भिक समीक्षामा अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो,’ महराले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। र, अन्य अप्सन पनि खुला राखिएको छ। पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन।’
बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि सरकार गठनको विषयमा एमालेसँग पनि वार्ता हुनसक्ने बताएका थिए ।
अहिलेको गठबन्धनलाई माओवादी केन्द्रले साथ छोडिहाल्ने अवस्था चाहिँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कारण पनि देखिँदैन ।