काठमाडौं – एमालेको ‘नेसनल भोलिन्टियर फोर्स’ का केन्द्रीय कमान्ड प्रमुख पुष्पराज श्रेष्ठ फौजदारी मुद्दाका पटके अभियुक्त भएको खुलेको छ । प्रहरीको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) अनुसार उनीविरुद्ध २०६५ देखि २०७५ सम्म ७ वटा मुद्दा दर्ता भएका छन् ।
पछिल्लो पटक भदौ २०७५ मा उनी अपहरण तथा शरीर बन्धकमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । ओखलढुंगाको सिद्धिचरण–४ घर भई काठमाडौंको धुम्बाराही बस्दै आएका रामबहादुर कटुवालले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बन्धक बनाएर रकम लुटपाट गरेको अभियोगमा समेत अनुसन्धान भएको थियो । कुँवरलाई डेरामा लगेर जबर्जस्ती ११ लाख रुपैयाँ बराबरको चेकसमेत काट्न लगाएको पाइएको थियो । त्यसबेला उनी माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को सिन्धुली जिल्ला अध्यक्ष थिए । माओवादी र एमाले मिलेर नेकपा बनेयता उनी एमालेमै रहे ।
प्रहरीका अनुसार २०६३, २०६४ र २०६५ मा पनि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । २०६७ मा उनीविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गतको कसुरमा मुद्दा चलेको थियो । त्यसबेला उनीमाथि सिन्धुलीका राजन घिसिङलाई कुटपिट गरेको आरोप थियो । २०७० मा अपहरण तथा शरीर बन्धकको कसुरमा उनी पक्राउ परेका थिए ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘नेसनल भोलेन्टियर फोर्स’ का अध्यक्ष श्रेष्ठमाथि उठेका कानुनी प्रश्नबारे विस्तृत थाहा नभएको बताए । कानुनले कुन तहसम्म प्रश्न उठाएको हो भन्ने पत्ता लागेपछि मात्रै थप कदम चाल्ने उनको भनाइ छ । ‘छानबिन होला, राज्यका निकाय छन् । प्रश्न उठाएर मात्रै भएन, प्रमाणित पनि गर्नुपर्छ । आजका दिनसम्म राज्यका निकायले के गरिरहेका थिए ?’ उनले भने, ‘कुण्डली हेरेर नेतृत्वमा ल्याउने कुरा भएन, मिडियामा आएपछि हाम्रो ध्यानाकर्षण भइसकेको छ । तथ्यका आधारमा सत्यको निरुपण हुन्छ । कानुनभन्दा कोही माथि छैन ।’
श्रेष्ठमाथि लागेका अभियोग
२०६३ : ज्यान मार्ने उद्योग
२०६४ : ज्यान मार्ने उद्योग
२०६५ : ज्यान मार्ने उद्योग
२०६७ : सार्वजनिक अपराध
२०७० : अपहरण/शरीर बन्धक
२०७३ : बन्धक बनाएर लुट
२०७५ : सार्वजनिक अपराध
कान्तिपुर दैनिक