काठमाडौं – एमालेले ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व छनोटलाई छिटो, छरितो र प्रभावकारी बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागिएको र त्यसका लागि टेन्डर प्रक्रिया सकेर छनोट प्रक्रिया सुरु भएको छ । ‘नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने टुंगोमा पुगेका छौँ, त्यसका लागि टेन्डर आह्वान गरेर कम्पनी छनोट गर्दै छौँ,’ ज्ञवालीले भने ।
एमालेले दसौँ महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन नै प्रयोग गरेको थियो ।
एमाले महाधिवेशनका प्रतिनिधि संख्या बढेको छ । २२ सयहाराहारी प्रतिनिधि अनुमान गरिएकोमा अन्तिम संख्या यकिन हुँदा २२ सय ५० देखि २२ सय ७५ सम्म पुग्न सक्ने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले बताए ।
एमालेले प्रतिनिधिहरूको कार्ड प्रदेशहरूमै डिजिटाइज्ड गरेर छपाइका लागि मात्र विभागमा पठाउन निर्देशन दिएको छ । केन्द्रमा आएका गैरभौगोलिक क्षेत्र, जनसंगठन र पदेनसहित एकतिहाइ प्रतिनिधिको कार्ड छपाइ भने सकिएको अधिकारीले बताए ।
एमलेको एघारौं महाधिबेशनको उद्घाटनशत्र यहि २७ मंसिरमा भक्तपुरको सल्लाघारी चौरमा हुनेछ भने बन्दशत्र २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।