काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा, नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो।
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो। २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो। त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो।
सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ ग्रेड (ए प्लस) ल्याउनेको संख्या २२ हजार ४७५ जना छन्। यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ। गत वर्ष ८९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए।
एसईईको ३.२० देखि ३.६० ग्रेड (ए) ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ जना छन्। जुन कुल विद्यार्थी संख्याको ११.३६ प्रतिशतको हो। यसैगरी २.८ देखि ३.२ जीपीए (बी प्लस) ल्याउनेको संख्या ७२ हजार ३६२ छ जुन १४.९२ प्रतिशत हो। २.४ देखि २. ८ जीपीए (बी)ल्याउनेको संख्या ९ हजार ३३१ जना रहेका छन्। यो संख्या कुल विद्यार्थीको १८.४२ प्रतिशत हो।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए (सी प्लस) ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या १ लाख २ हजार २९३ छ। जुन कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत हो। एसईईमा १.६ देखि २.० जीपीए (सी) ल्याउने १८.२४ प्रतिशत विद्यार्थीको संख्या ८८ हजार ४४७ छ। १.२० देखि १.६० जीपीए अर्थात् डि प्लस ल्याउने विद्यार्थीको संख्या ३८ हजार ७७० छ। यो कुल विद्यार्थीको ७.९९ प्रतिशत हो। ०.८० देखि १.२० जीपीए अर्थात् डि ग्रेड ल्याउनेको संख्या २ हजार २०० रहेको छ।यो कुल विद्यार्थीको ०.४५ प्रतिशत हो।नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात् १३ हजार ९९२ छ।
यस बर्ष गणितमा विद्यार्थीले सबैभन्दा कम जीपीए ल्याएका छन्। गत बर्षको भन्दा यस पटकको नतिजामा भने केही सुधार भएको छ। यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षर्थी सहभागी भएका थिए।तीमध्ये २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्र छन्। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी पनि एसईई परीक्षामा सहभागी थिए।
यसपटक बोर्डले पुरानै विधिअनुसार डी र ई ग्रेड पनि निर्धारण गरेर नतिजा प्रकाशन गरेको छ। पुरानो पद्धतिअनुसार ९० देखि १०० विचमा अंक ल्याउनेलाई एप्लस, ८० देखि ९० भन्दा कम अंक ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम अंक ल्याउनेलाई बीप्लस, ६० देखि ७० भन्दा कम अंक ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम अंक ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिएको बोर्डले जनाएको छ।
बोर्डको दुवै वेबसाइट www.see.gov.np र www.neb.gov.np बाट, नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर तथा विभिन्न वेबसाइटबाट र विभिन्न सेवाप्रदायक कम्पनीमा एसएमएस गरेर नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमबाट १६०० मा डायल गरी एईई नतिजा हेर्न र बुझ्न सकिन्छ। यस्तै ३५००१, ३४९४९, ३१००३, ३१०६४ डायल गरेर पनि एसईई नतिजा थाहा पाउन सकिन्छ।