काठमाडौं – ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति गएको पहिरोले ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी दिपकबहादुर केसीले बताए ।
त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको डिएसपी केसीले बताए ।
स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।