ओलीको अहङ्कार सरकारको अकर्मण्यताले देश सङ्कटमा – सहमहामन्त्री राठौर

80

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कार र गठबन्धन सरकारको अकर्मण्यताका कारण देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका छन्।

उनले हालै जेनजीले आयोजना गरेको आन्दोलनमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

राठौरले शान्तिपूर्ण भनिएको आन्दोलनमा अराजकतावादी र विखण्डनवादी तत्त्वको घुसपैठले हिंसात्मक रूप लिएको र यसले हत्या, हिंसा, आगजनी, लुटपाट तथा अराजकतामा परिणत भएकोमा चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोध र भ्रष्टाचारविरुद्धको युवा आन्दोलनलाई निहित राजनीतिक स्वार्थ पूरा गर्ने खराब उद्देश्य बोकेका तत्त्वले प्रयोग गरेको आरोप लगाए।

देशका तीनै वटा अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका प्रतीक संघीय संसद्, ऐतिहासिक सिंहदरबार, सर्वोच्च, उच्च, विशेष र जिल्ला अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलाई समेत सुरक्षा दिन नसक्नुले सुरक्षा संयन्त्रको क्षमतामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ। जनताको करबाट चलेका विभिन्न सरकारी कार्यालय, सार्वजनिक संस्था, मिडिया हाउस, व्यावसायिक उद्योगहरू ध्वस्त पारिएको र नेपाली कांग्रेससहित विभिन्न दलका कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको घटनाप्रति उनले खेद व्यक्त गरे।

राठौरले नेपाली कांग्रेसलगायतका लोकतान्त्रिक दल र नेता कार्यकर्तालाई छानाछानी आक्रमणको निशाना बनाइएको, सुरक्षाकर्मीका बख्तरबन्द गाडी र हतियारसमेत दिनदहाडै कब्जामा लिइएका दृश्य सार्वजनिक हुनुलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा व्याख्या गरे।

न्यायालयको आदेशमा कारागारमा रहेका करिब १४ हजार कैदीबन्दी जेल तोडेर भाग्दा पनि सरकारको शून्य उपस्थितिले समाज थप आतङ्कित हुने निश्चित भएको उनले बताए।

समाचार वर्गहरू