कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

19
फाइल फोटो

काठमाडौं – प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

कांग्रेसले थप तीन दिनको विरोध कार्यक्रम सार्वजनकि गर्दै भ्रातृ र शुभेच्छुक संस्थालाई समेत परिचालन गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनबिरुद्ध आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको हो ।

बैठकले माघ १९ गते भ्रातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै माघ ३० गते ७७ वटै जिल्ला कार्यसमितिको आयोजनामा प्रदर्शन गर्ने तय भएको शर्माले बताए ।

कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने निर्णय गरेको नेता रामकृष्ण यादवले जानकारी दिए ।

कांग्रेसका प्रवक्ता शर्माका अनुसार माघ ३० गते जिल्ला कार्यसमितिको नेतृत्वमा आ–आफ्नो जिल्लामा प्रदर्शन हुनेछ । यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ । माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह र गाउारनगरका वडामा प्रदर्शन गरेको थियो। प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउनुपर्ने बताइरहेको छ ।

यस्तै बैठकले कार्यावधि सकिएका करिब एक दर्जन भ्रातृ संस्थाको समयावधि ६ महिना थप गर्ने निर्णय पनि गरेको छ ।

समाचार वर्गहरू