काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्र नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका सुकुम्वासी बस्तीहरू हटाउने प्रक्रिया एकै चरणमा सुरु गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार यही वैशाख १८ गते बिहान ७ बजेदेखि जिल्लाभर एकैसाथ खाली गराउने कार्य प्रारम्भ हुने छ।
प्रशासनले नदी किनारका बस्ती तथा सरकारी, पर्ती, सार्वजनिक र निजी स्वामित्वका जग्गामा लामो समयदेखि अवैध रूपमा बसोबास गर्दै आएका संरचनाहरू हटाइने जनाएको छ।
प्रशासनका अनुसार बस्ती हटाउने कार्य मानवीय उद्धार तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिनेछ। यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीहरू खाली गराइसकिएको पनि सूचनामा उल्लेख छ।