काठमाडौं । काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर गणेश कार्की नामक व्यक्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर कार्कीलाई लुटेराको अभियोगमा पक्राउ गरेको उल्लेख गरिएको छ ।
काठमाडौंको भद्रकाली घर भएका कार्कीको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । शनिबार दिउँसो सुकेधारामा एक महिलामाथि लुटपाट भएको थियो । उनको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।
सो घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो। । अर्का एकजनालाई भने साँझ जडीबुटीबाट गोली चलाएर पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका व्यक्ति ट्रमा सेन्टरमा उपचार भई रहेको बताइएको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानबाट जडिबुटी क्षेत्रबाट गोली हानेर गएराति नियन्त्रणमा लिइएका कार्की विभिन्न आपराधिक घटनामा संलग्न पूर्व प्रहरी र कारागारबाट फरार भएका व्यक्ति भएको समेत खुलेको जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिएको जानकारी अनुसार काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकालीका ४० वर्षीय कार्की २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएको र २०६४ सालमा सेवा छाडेर हिडेको बताइएको छ । प्रहरी अभिलेख अनुसार कार्की विरुद्ध विगतदेखि नै विभिन्न फौजदारी मुद्दा समेत दर्ता भएका पाईएको जनाइएको छ उनीविरद्ध २०६४ साल मंसिर ९ गते अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त बौद्धमा र सोही वर्ष पुस ८ गते हातहतियार तथा खरखजाना मुद्दा बालाजु प्रहरी वृत्तमा दर्ता भएको पाइएको छ ।
२०६८ साल वैशाख २ गते कर्तव्य ज्यान मुद्दामा संलग्न भई दोषी ठहर भएपछि २०६८ असार २० गतेदेखि २०७८ असोज ३ गतेसम्म कैद सजाय भुक्तान गरेका भेटिएको छ । सजाय भुक्तानपछि उनी चोरी तथा डाँका चोरीका मुद्दामा पटकपटक पक्राउ परेका प्रहरीको रेकर्डमा उल्लेख गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार २०७८ साल फागुन ३ गते ललितपुर प्रहरीमा चोरी मुद्दा र २०७८ साल फागुन २६ गते प्रहरी वृत्त गौशालामा डाँकाचोरी मुद्दा दर्ता भएको उल्लेख गरिएको छ । २०७९ सालमा डाँका चोरीमा ६ वर्ष सजायँ भई उनलाई केन्द्रीय कारागारमा राखिएको थियो ।
२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका बेला उनी कारागारबाट फरार भएका थिए । फरार भएपछि उनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चोरी, लुटपाट तथा प्रहरीको परिचय दुरुपयोग गरी आपराधिक गतिविधि सञ्चालन गरेको आरोप प्रहरीले लगाएको छ । कार्कीले कपन क्षेत्रमा महिला साथीलाई भेट्न जाँदा पक्राउ गर्न पुगेका सादा पोशाकका प्रहरीमाथि धुलो र खुर्सानी छर्केर आक्रमण गरी फरार भएको समेत प्रहरीको भनाई रहेको छ ।
गौशालामा २०८२ साल असोज ७ गते एक बिजुली पसलमा चोरी तथा लुटपाट गरेको, माघ ११ गते पिङ्लास्थान क्षेत्रमा विदेश जान लागेका एक व्यक्तिबाट नगद ५ हजार रुपैयाँ र मोबाइल फोन लुटेको, चैत महिनामा शान्तिनगरमा गुल्लु खान भन्ने व्यक्तिको मोबाइल फोन लुटपाट गरेको आरोप उनीमाथि रहेको जनाइएको छ । २०८२ साल फागुन महिनामा तिलगंगामा आफूलाई प्रहरी भएको परिचय दिँदै लागुऔषध र नगद १ हजार ५ सय रुपैयाँ लुटेर भागेको आरोप उनीमाथि रहेको छ ।
पशुपति क्षेत्र, जोरपाटी तथा एयरपोर्ट आसपासका क्षेत्रलाई उनले आफूलाई प्रहरीको परिचय दिँदै लागुऔषध प्रयोगकर्ता तथा विदेश जाने यात्रुलाई लक्षित गरी लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुन्दरीजल क्षेत्रबाट एक स्कुटर चोरेर कलंकी क्षेत्रमा छाडेको घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।